(१) जेलरको कर्तव्य देहाय बमोजिमको हुनेछ –
(क) कारागारको सबै मिसिल, किताब, कागजात एवं मालसामानहरू र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निजको जिम्मा लगाइएको सबै चीज एवं मालसामनहरू सुरक्षित रूपले राख्ने,
(ख) थुनुवा कैदी भाग्न नपाउने गरी पालो पहराको बन्दोबस्त गर्ने र त्यस्तो पालोपहरामा खटिएका व्यक्ति आफ्नोकाममा रुजु हाजिर रहेको वा नरहेको वा त्यस्तो व्यक्तिले आफ्नो काम कर्तव्य राम्रोसित पालन गरेको वा नगरेको कुराको रेखदेख गर्ने,
(ग) यस ऐनको अन्य दफा वा यस ऐन अन्तर्गत बनेको नियम वा अन्य प्रचलित नेपाल कानुनमा लेखिए बमोजिमको अरू कर्तव्यको पालन गर्ने ।
(२) प्रत्येक जेलरले आफ्नो निमित्त सरकारी तवरबाट ठेकिएको ठाउँमा निवास गर्नुपर्छ र सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति नलिई साधारणतया राती कारागार छाडी अन्त कतै जान हुँदैन ।
(३) कारागार भित्र वा कारागारबाट बाहिर कुनै चिज वा मालसामान ल्याउन लैजान लाग्दा कारागारमा त्यस बखत पालो पहरामा रहेको पाले सिपाहीले जाँची शंका लागेको व्यक्तिको तलासी समेत लिनु पर्छ र कुनै निषिद्ध वस्तु ल्याउन वा लैजान लागेको वा कारागारको कुनै सम्पत्ति बाहिर लैजान लागेको फेला परेमा जेलरलाई तुरुन्त सो कुराको सूचना दिनुपर्छ ।
(४) कारागारका कुनै कर्मचारी जेलर वा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति विना कारागारबाट अनुपस्थित रहन हुँदैन ।
(५) कारागारका कर्मचारीहरूको अन्य कर्तव्य तोकिएबमोजिम हुनेछ ।